संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा आज शुक्रबार देखि ऐतिहासिक सेकाहा महोत्सव सुसरु हुँदैछ । महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता पनि सञ्चालन हुनेछ ।
‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’अन्तर्गत हुन लागेको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सेकाहा सामुदायिक विकास क्लबका सचिव सलबहादुर गुरुङले बताए ।
गुरुङका अनुसार प्रतियोगितामा आयोजक खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका र भोजपुरको षडानन्द नगरपालिका गरी ८ टिमको सहभागिता रहेको छ।
महोत्सवको अवसरमा अन्य विभिन्न खेलकुद प्रतियोगिता, नृत्य र बृहत् सांगीतिक कार्यक्रमहरू रहेको आयोजकले जनाएको छ। प्रतियोगिता पुस १५ गते तमू ल्होसारको दिन समापन हुनेछ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २०/२० हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्टहरूलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।
महोत्सवको सहआयोजकमा मकालु बरुण बौद्ध गुम्बा रहेको छ भने मुख्य प्रायोजक ४ नं. वडा कार्यालय खाँदबारी नगरपालिका र प्रायोजकमा सिरुपाते ग्लोबल ग्रुप भालुकाभ्रा रहेको छ। महोत्सवको प्रत्यक्ष प्रशारण हेर्ने चित्र र नागरिक चासोले गर्ने छ ।











