थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघनको आरोप लगाएको छ । कम्बोडियाले युद्धविराम उल्लंघन गरेको र आफ्नो एक सैनिक घाइते भएको थाइल्याण्डले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
तर कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको जनाएको छ । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा हिजो भएको घटनाबारे वास्तविकता थाहा पाउन कम्बोडियाली पक्षसँग सम्पर्क गरेको खबरमा उल्लेख छ । मन्त्रालयले यस्ता घटना दोहोरिन नदिन आग्रह पनि गरेको छ ।
जवाफमा कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेटाले पनि दुई कम्बोडियाली सैनिक घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ । तर थाई सेनाले यस्ता घटना दोहोरिए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सैन्य तहमा यसलाई दुर्घटना भनिए पनि जिम्मेवारी र स्पष्टीकरण आवश्यक रहेको बताउनुभएको छ ।
थाइल्यान्ड र कम्बोडियाबीचको दशकौं पुरानो सीमा विवाद गएको वर्ष पटक–पटक हिंसात्मक झडपमा परिणत भएको थियो । अघिल्लो महिना भएको गोलाबारीमा धेरैको ज्यान जानुका साथै झन्डै १० लाख मानिस विस्थापित भएका थिए ।











