कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ वटा पुलको मर्मत तथा सुदृढीकरण कार्य अघि बढाएको छ ।
आयोजनाले कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथि रहेका पुल मर्मत भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत एक करोड ९१ लाख ८२ हजार रुपैयाँ लागतमा पुलहरू मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो । गएको मङ्सिर २१ गतेदेखि शुरू भएको मर्मत तथा सुदृढीकरण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।











