पश्चिमी युरोपका विभिन्न देशहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ । प्रकोपका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ । तीमध्ये ५ जनाको फ्रान्समा र १ जनाको बोस्नियामा ज्यान गएको हो ।
‘स्टर्म गोरेत्ती’ नामक शीत आँधीका कारण फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम, बेलायत तथा आसपासका क्षेत्रमा हवाई, रेल र सडक यातायातमा अवरोध सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको पेरिसमा अत्यधिक हिमपातका कारण ओर्ली र चाल्र्स दे गौल विमानस्थलबाट कम्तीमा १ सय ४० उडान रद्द गरिएका छन् ।
त्यस्तै, नेदरल्यान्ड्सको स्खिपोल विमानस्थलमा ७०० भन्दा बढी उडान रद्द हुँदा १,००० भन्दा बढी यात्रु रातभर विमानस्थलमै अलपत्र परेका द गार्जियनले जनाएको छ । यात्रुहरूका लागि आपतकालीन बेडको व्यवस्था गरिएको विमानस्थल प्रशासनको भनाइ छ । बेल्जियमको ब्रसेल्समा पनि झन्डै ४० उडान रद्द भएका छन् ।
पेरिसमा सार्वजनिक बस सेवा पूर्ण रूपमा बन्द गरिएको छ । उत्तरी तथा पश्चिमी फ्रान्सका धेरै क्षेत्रमा विद्यालय बस र ट्रकहरू सडकमा चलाउन प्रतिबन्ध लगाइएको छ । रेल सेवामा पनि ढिलाइ र रद्द हुने क्रम चलिरहेको छ । फ्रान्सको रेल कम्पनी एसएनसीएफले ट्र्याकमा जमेको हिउँका कारण गति घटाउनुपरेको जनाएको छ ।
पेरिस–लन्डन–ब्रसेल्स चल्ने युरोस्टार रेल सेवामा पनि ढिलाइ भएको छ । स्कटल्यान्डमा लगातार तेस्रो दिनसम्म विद्यालय बन्द छन् भने इंग्ल्यान्डमा आउँदा दिनमा थप हिमपातको चेतावनी दिइएको छ । यातायात अवरुद्ध भए पनि पेरिसमा धेरै स्थानीय र पर्यटकहरूले हिउँको आनन्द लिइरहेका खबरहरूमा उल्लेख छ ।
त्यहाँको मौसम विभागका अनुसार आउँदो केही दिनसम्म चिसो र हिमपातको प्रभाव कायम रहने सम्भावना छ । नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।











