महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेसको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजो विज्ञप्ति निकालेर पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गर्नुभएको हो ।

विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको तयारी अगाडि बढाउँदै गर्दा संस्थापन पक्षको यस्तो विज्ञप्ति आएको हो । पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी पंक्तिलाई अपिल गरिएको छ । विशेष महाधिवेशन पक्षधरले हिजो पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाण्डौमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले यस्तो अपिल गरेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search