नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाण्डाै । निर्वाचन आयोगले नमूना मतपत्रको छपाइ अन्तिम चरणमा पुर्‍याएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको मतदाता शिक्षाका लागि १० लाख थान नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो ।

आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ शुरू गरेको हो । आजसम्ममा नमूना मतपत्र छापेर भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्ने तयारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ ।

माघ ९ गतेसम्ममा समानुपातिकतर्फको मतपत्र छापिसकेर माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गर्ने योजना रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फको मतदानका लागि २ करोड थान मतपत्र छापिने छ । यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् । कुल मतदाताको ५ देखि १० प्रतिशत सङ्ख्यामा बढाएर मतपत्र छापिनेछ । मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search