इरानमा सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै

इरानभर आर्थिक संकटका कारण शुरू भएका प्रदर्शनहरू तीव्र बन्दै गएका छन् । अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गइसकेको छ भने २ हजार भन्दा बढी मानिस पक्राउ परेका छन् ।

अमेरिकी प्रतिबन्धका कारण इरानी मुद्रा रियालको मूल्य तीव्र रूपमा घटेपछि शुरू भएका आन्दोलनहरू अहिले देशभर व्यापक सरकारविरोधी प्रदर्शनमा परिणत भएका छन् । प्रदर्शन नियन्त्रण गर्न इरानी अधिकारीहरूले देशभर इन्टरनेट सेवा बन्द गरेका छन् ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भएमा कडा कारबाही गर्ने चेतावनी पुनः दोहोर्याउनुभएको छ । ट्रम्पले इरानका स्वघोषित ‘क्राउन प्रिन्स’ रेजा पहलाभीसँग भेट गर्नु उपयुक्त नहुने बताउनुभएको छ । यसले इरानमा सत्ता परिवर्तन भएमा अमेरिकाले अवस्थामा समर्थन नगर्ने संकेत देखिएको कतारी सञ्चार माध्यम अलजजिराले जनाएको छ ।

रेजा पहलाभी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलाभीका छोरा हुनुहुन्छ, उहाँ सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ताच्युत हुनुभएको थियो । बिहीवार ‘द ह्युग हेविट शो’ पोडकास्टमा बोल्दै राष्ट्रपति ट्रम्पले पहलाभीलाई ‘राम्रो व्यक्ति’ भने पनि राष्ट्रपति हैसियतले भेट गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।

अमेरिकामा निर्वासित जीवन बिताइरहेका र इजरायलसँग निकट सम्बन्ध राख्ने रेजा पहलाभी इरानी विपक्षी शक्तिभित्रको राजतन्त्र समर्थक समूहको नेतृत्व गर्नुहुन्छ । उहाँले हालै इरानमा सरकार ढल्यो भने संक्रमणकालीन नेतृत्व सम्हाल्न आफू तयार रहेको बताउनुभएको थियो ।

तर ट्रम्पको अभिव्यक्तिले यो प्रस्तावलाई अमेरिकाले औपचारिक समर्थन नगरेको स्पष्ट भएको छ । रेजा पहलाभीले ट्रम्पको चेतावनीप्रति आभार व्यक्त गर्दै युरोपेली नेताहरूलाई पनि इरानी जनताको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरेका छन् । इरान अहिले आर्थिक, राजनीतिक तथा वातावरणीय संकटसँग जुधिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search