काठमाण्डाै । भारतका स्टार क्रिकेटर विराट कोहली आईसीसी एकदिवसीय वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । भारतकै रोहित शर्मालाई पछि पार्दै ३७ वर्षीय कोहली एक स्थान सुधार गरेर चार वर्षपछि ब्याटिङ वरीयतामा पुनः शीर्ष स्थानमा उक्लिएका हुन् ।
आइतवार बडोदरामा भएको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डसँगको खेलमा कोहलीले ९३ रन बनाएका थिए । त्यो खेल भारतले ४ विकेटले जितेको थियो ।
कोहली सन् २०२१ को जुलाईपछि पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन् । उनी ११औं पटक विश्वको नम्बर एक एकदिवसीय ब्याटर बनेका हुन् ।
विराट कोहली पहिलो पटक सन् २०१३ को अक्टोबरमा एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) काे पछिल्लाे ब्याटिङ वरीयतामा न्युजिल्यान्डका ड्यारेल मिचेल एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । यस्तै रोहित शर्मा दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका छन् ।
यो वरीयतामा नेपालका आसिफ शेख, रोहित पौडेल र आरिफ शेख शीर्ष १०० मा परेका छन् ।











