राष्ट्रसङ्घले सुडानमा आउँदो मार्च अर्थात् अबको तीन महिनापछि सहायताका लागि भण्डारण गरिएको खाद्यान्न समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिका लागि चिन्ता बढाएको छ ।
सुडानमा तीन वर्ष लामो गृहयुद्धपछि यो चेतावनी आएको एएफपीले जनाएको छ । त्यहाँ सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाइँमा दसौँ हजारले ज्यान गुमाएका छन् । एक करोड १० लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
‘मार्चको अन्त्यसम्ममा सुडानमा हाम्रो खाद्य भण्डार अत्यन्त कम भइसक्नेछ’, विश्व खाद्य कार्यक्रमका आपतकालीन तयारी तथा प्रतिकार्य निर्देशक रस स्मिथले विज्ञप्तिमा भन्नुभएको छ । तत्काल थप कोषको व्यवस्था नभए लाखौँ मानिस केही हप्ताभित्रै अत्यावश्यक खाद्य सहायताबाट वञ्चित हुनेछन् ।
राष्ट्रसङ्घका अनुसार सुडानको झन्डै आधा जनसङ्ख्या अहिले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । राजधानी खार्तुमबाट झन्डै १ सय ३० किलोमिटर उत्तरमा पर्ने डिलिङ क्षेत्रमा नागरिकहरूले भोकमरीको अवस्था भोगिरहेका हुन सक्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यद्यपि सुरक्षा समस्या र पहुँचको अभावका कारण औपचारिक घोषणा हुन सकेको छैन ।











