खाँदबारी । कुमाल समाज संखुवासभाको आयोजनामा कुमाल समुदायको महान चाड माघी पर्व खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा आज विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा कुमाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक नृत्य, गीत तथा झाँकी प्रस्तुत गरिएको थियो । साथै, माघी पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे वक्ताहरूले चर्चा गर्दै समुदायबीच आपसी एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने सन्देश दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा कुमाल समुदायका अग्रज व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले माघी पर्वलाई केवल चाडको रूपमा मात्र नभई नयाँ वर्षको सुरुवात, आत्ममूल्यांकन र सामूहिक विकासको संकल्प गर्ने अवसरका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नेपाल कुमाल समाज संखुवासभाले यस्ता कार्यक्रमहरूले कुमाल समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक–सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।











