केही जिल्लामा निर्वाचन प्रहरीमा आवेदन दिने म्याद भोलिसम्मको लागि थप

काठमाण्डौ । फागुन २१ गते हुने चुनावमा निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा भोलिसम्मको लागि म्याद थपिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेकाले दुई दिन म्याद थपिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीमा आवेदनका लागि हिजोसम्मको समय तोकेकोमा यसबीचमा झन्डै २ लाखको आवेदन परेको छ ।

धेरै जिल्लामा मागभन्दा धेरै आवेदन परे पनि भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् । नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ ।

आवेदनको लागि १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।

पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० किलो तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ किलो तौल र गर्भवती नभएको, नरहेको हुनुपर्ने मापदण्ड छ । छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन काममा खटाउने गरी भर्ना गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । यसअनुसार निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार रुपैयाँ तलब र सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता पाउँछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search