काठमाण्डौ । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् ।
हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ । जुम्लामा पनि हिमपात भएको छ । हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्याे तर यस पटक ढिला हिमपात भयो ।
हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको कनकासुन्दरी गाउँपालिका–२ का किसान रतन रावतले बताउनुभयो । अर्का किसान गोपाल रोकायाले किसानका लागि यो हिउँ चाँदी सरह नै रहेको बताउनुभएको छ । जुम्लाको न्यूनतम तापक्रम माईनसमा छ । हिमपातले जनजीवन भने सामान्य प्रभावित भएको छ ।
त्यस्तै बैतडीको उच्च क्षेत्र खोड्पे, श्रीभावर, सतबाँझलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । हिमपात भइरहे पनि सडकमा समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले विशेषगरी हिउँदेबाली गहुँमा फाइदा पुग्ने भएको छ । चिसो केही बढेकाले जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस रहेको थियो ।











