आजदेखि शहीद सप्ताह शुरु : पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

काठमाण्डौ । शहीद सप्ताह शुरु भएको छ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाण्डौको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डङ्गोलले शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गतेका दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।

त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १० देखि शहीद सप्ताह मनाउन थालिएको हो । शहीद धर्मभक्त माथेमालाई माघ १३ मा अनि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ मा शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो ।

विशेषगरी शास्त्री, माथेमा, श्रेष्ठ, चन्दको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ । १९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search