त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारको वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ र २३ थान मोबाइलसहित पक्राउ गरेको हो ।

तीनैजना कर्मचारी तथा अरू केही शंकास्पद व्यक्तिका समेत मोबाइल सेट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारको टोली खटिएको हो ।

अनुगमनका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार घुस, उनकै घर्राबाट स्रोत नखुलेको ४० हजार ३ सय ५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद भएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८ सय ४८ गरी ३८ हजार ८ सय ४८ रुपैयाँ बरामद भएको छ । यो सबै रकम अधिकृत न्यौपाने, नासु रिजाल र सहयोगी पुडासैनीको मिलेमतोमा घुस लिएको र बाँडफाँट हुनुअगावै अख्तियारले नियन्त्रणमा लिएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search