संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ स्थित उर्गेन छ्योलिङ गुम्बाले आयोजना गरेको (काङ्युर) पाठ अर्थात बुद्ध वचन त्रिपिटक प्रवचन कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । पौष १७ गते देखि २२ गतेसम्म सञ्चालित कार्यक्रममा जीन्सी तथा नगद १६ लाख २१ हजार ९ सय ६० रुपैंया संकलन भएको गुम्बाका सचिव हस्त बहादुर तामाङले जानकारी दिनुभयो ।
जसमा १४ लाख ५४ हजार २ सय २० रुपैंया खर्च भएको छ भने १ लाख ६७ हजार ७ सय ४० रुपैंया गुम्बाको कोषमा आम्दानी बाँधीएको सचिव तामाङले बताउनु भयो ।
गुम्बाका लागि मकालु १ निवासी मिङ्मा शेर्पाले २ ओटा बुद्धको मुर्ती सहयोग गर्नु भएको थियो भने पाँचखपन ६ वानाका रत्नमान तामाङबाट ५६ हजार ५ सय, गुफटारका नवीन तामाङबाट ३५ हजार र पाँचखपन ८ सुनखानीका दिपेन्द्र न्यौपानेबाट २२ हजार ५ सय नगद सहयोग प्राप्त भएको थियो ।

यस्तै पाँचखपन ७ हाल काठमान्डौका विष्णु माया तामाङ र पाँचखपन ९ का दावा शेर्पाबाट जनही २० हजार रुपैंया नगद सहयोग प्रदान गर्नु भएको थियो । यसै गरी इटहरी का दिलिप तामाङबाट १७ हजार, पाँचखपन १ हाल मुढेका नर बहादुर तामाङ, नुवाकोट हाल पोल्याण्डमा रहनु भएका सम्झना तामाङ र पाँचखपन ७ हाल जापानमा रहनु भएका गौरव तामाङद्धारा जनही १५ हजार नगद सहयोग गर्नु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । यस्तै पाँचखपन ७ का कर्म माया र जस माया तामाङले संयुक्त रुपमा ११ हजार रुपैंया सहयोग प्रदान गर्नु भएको थियो ।
प्रवचन कार्यक्रममा निङ्मा इन्सिच्युट मार्ताम सिक्किम कलेजका आचार्य गुरुहरु शेराव गुरुङ, मिग्मार श्रीङ शेर्पा र छेवाङ शेर्पा, सोही गुम्बाबाट बौद्ध शिक्षा आरम्भ गरी निरन्तर ६ वर्ष ध्यान तपस्या सिद्ध गरी फर्किएका आनी सरिना तामाङ लगायत लामा गुरुहरुको उपस्थिति रहेको थियो । जिल्लामा नै पहिलो पटक सञ्चालन गरिएको त्रिपिटक प्रवचन कार्यक्रम सफलताको लागि सहयोग गर्नुहुने सहयोगी महानुभावहरुलाई आयोजक समितिले आभारसहित धन्यवाद प्रकट गरेका छन् ।











