काठमाण्डाै । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । एक्सट्रिम इनर्जी ड्रिङ्क्स र नेपाल क्रिकेट सङ्घ (क्यान) बीचको साझेदारीअन्तर्गत राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको हो ।
क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्क्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता गएको माघ २ गते सम्पन्न भएको थियो । नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिङ्क्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राखेपका सदस्यसचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।











