काठमाण्डाै । नेपाल टेलिकमले सात सय ४९ वटा पालिकामा फोर–जी सेवाको पहुँच विस्तार गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकत्सवका अवसरमा आज आयाेजित कार्यक्रममा टेलिकम सञ्चालक समितिकी अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले चार वटा बाहेक सबै पालिकामा फोर–जी सेवाको पहुँच विस्तार भएको जानकारी गराउनुभएको हो ।
नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सचिव बस्नेतकाे दाबी छ । प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ । विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको सचिव बस्नेतको भनाइ छ ।











