नेपालले क्यानडालाई ६ विकेटले हरायो

काठमाण्डाै । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १२ बलअघि नै ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ५८, सन्दीप जोराले ४४, गुल्सन झाले नटआउट ३१ रन बनाए । क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुण्डलले १/१ विकेट लिए ।

यसअघि भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । क्यानडाका नवनीत धालिवालले ४१, श्रेयस मोव्वाले नटआउट ३८ रन बनाए । नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २/२ विकेट लिए ।

नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।

१०औँ संस्करणको टी–२० विश्वकप पर्सि शनिवार फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० वटा देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ’सी’ मा छ । यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । नेपालले आउँदो आइतवार इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search