खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाहको भोज खाएका बेहुला–बेहुलीसहित एक सय जनाभन्दा धेरै बिरामी भएका छन् । उनीहरुको शिविरमार्फत उपचार थालिएको छ । ज्वरो आउने र झाडापखाला हुनेलगायत समस्या देखिएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।
बिरामीलाई ‘फुडपोइजन’ को आशङ्का गरिएको छ । उनीहरुले गएको माघ २१ गते भोज खाएका थिए । भोज खाएर फर्केपछि धेरैजसो बिरामी परेका हुन् । जन्तेढुङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् ।
स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति माग गरिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिनुभयो । शिविरमा ३५ जनाले उपचार गराइरहेका छन् । अरू केही उपचारपछि घर फर्किएका छन् ।











