काठमाण्डौ । नेपालमा पहिलोपटक आज सालक सम्मेलन हुँदैछ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालय चितवनको संयोजनमा माडीमा सम्मेलन हुन लागेको हो ।
वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा विज्ञसहित २ सय भन्दा बढीको सहभागिता हुनेछ ।
संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण र चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिनेछ । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य मानिन्छ ।
प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाएको छ । आउँदो वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गर्ने बागमती सरकारको योजना छ ।










