काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा कैयौं मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने चिन्ता बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुनेमा सात हजार एक सय ६० जना अहिले गाउँ बाहिर छन् । जाडो छल्न नेपालगञ्ज, सुर्खेत, काठमाण्डौ, पोखरा र भारतसमेत झरेका यी मतदाताहरू माघ र फागुन महिनाभरि गाउँ फर्कन सक्ने अवस्था छैन ।
बाटोहरू हिउँले ढाकिएको हुनाले गाउँमै रहेका बुढापाकालाई पनि मतदान केन्द्र पुग्न गाह्रो हुने देखिन्छ । डोल्पाको छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङले भूगोल र मौसमको ख्याल नगरी चुनाव तोकिएको गुनासो गर्नुभएको छ । यस्तै बाजुरा, दार्चुला, बझाङ, मनाङ, मुस्ताङ, दोलखा, रसुवा, ताप्लेजुङ र सोलुखुम्बुका उच्च हिमाली भेगका मतदाता पनि यही समस्यामा छन् ।
मनाङ र मुस्ताङका झन्डै ७० प्रतिशत मानिसहरू जाडो छल्न पोखरा र काठमाण्डौ झरेका छन् । जुम्लामा झन्डै ३० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले चुनाव मतदाता जहाँ बसेका छन् त्यहीँबाट भोट हाल्ने व्यवस्था गर्न माग गरेका छन । तर सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनीहरूको गुनासो छ ।










