चेक रिपब्लिकका प्रधानमन्त्री आन्द्रेज बाबिसले १५ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने पक्षमा आफू रहेको बताउनुभएको छ ।गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकाका लागि यस्ता प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने पहिलो देश बनेपछि स्पेन, ग्रीस, बेलायत र फ्रान्सलगायतका देशहरूले बालबालिकामा पर्ने नकारात्मक प्रभावको चिन्ताका कारण सामाजिक सञ्जालको प्रयोगमा कडा अडान लिने विचार गरिरहेका छन् ।
चेक रिपब्लिकका प्रधानमन्त्री बाबिसले विज्ञहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि अत्यन्त हानिकारक भएको बताएका र हामीले हाम्रा बालबालिकाको सुरक्षा गर्नुपर्ने भिडियो सन्देशमा भन्नुभयो ।
यस्तै सरकारकी प्रथम उपप्रधानमन्त्री कारेल हाभलिसेकले निजी प्रसारक सीएनएन प्राइमा न्यूजको एक टेलिभिजन च्याट शोमा मन्त्रिपरिषद्ले प्रतिबन्धको प्रस्ताव गर्नेबारेमा विचार गरिरहेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । यो प्रस्ताव अगाडि बढेमा यस वर्ष कानून प्रस्ताव गरिने उहाँको भनाइ छ ।
युरोपमा प्रविधिप्रतिको दृष्टिकोण कडा हुँदै गएपछि स्पेन र ग्रीसले गएको हप्ता किशोरकिशोरीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव राखेका थिए । बेलायतले अस्ट्रेलिया शैलीमा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ भने फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउन कानूनमार्फत काम गरिरहेको छ ।
विश्वभरका सरकार र नियामकहरूले बालबालिकाको स्क्रिन टाइमले उनीहरूको विकास र मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई हेरिरहेका खबरमा उल्लेख छ ।










