काठमाडौ । काठमाण्डौमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पाैने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ ।
त्यसबेला वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० पुगेकाे छ । जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ । इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ अनि १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ । बिहान पाैने ११ बजे काठमाण्डौ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये पाँचाै स्थानमा छ ।
त्यस्तै बङ्गलादेशकाे ढाका २८४ सहित पहिलाे स्थानमा र छिमेकी भारतको दिल्ली २७४ सहित दाेश्राे स्थानमा छ । पानी नपर्नु, मौसम सुक्खा हुनु, वनजंगलमा डढेलो लाग्नु, हावा नचल्नु, उद्योग–कलकारखाना, गाडीको धुँवा, कृषि अवशेष जलाउनु तथा अन्य कारणले वायु प्रदूषण बढेको हो ।
पानी पर्ने तत्काल सम्भावना नरहेकाले प्रदूषण अझ बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा हरेक वर्ष हिउँदमा वायु प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले श्वासप्रश्वासको समस्या मात्र नभई मुटुरोग, मस्तिष्क रोगको जटिलता ल्याउने डाक्टरको भनाइ छ ।
वायु प्रदूषण बढी भएका बेला दिर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई अझ समस्या हुने भएकाले सावधानी अपनाउन, घरबाट बाहिर निस्कदा मास्क लगाउन विज्ञको सल्लाह छ ।











