काठमाण्डाै । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । गएको आइतवार न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
‘यातायात व्यवस्था विभागको भदौ ३ गतेको सूचनाअनुसार अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य उल्लिखित संवैधानिक र कानूनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ ।
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको अध्यक्षतामा बसेको विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । यसरी अङ्ग्रेजी भाषा प्रयोग गरी इम्बोस्ड नम्बर प्लेट बनाउन भनेपछि यो निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहित अधिवक्ताहरूले पुस १६ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।











