फिलिपिन्सको सर्वोच्च अदालतले समलिङ्गी जोडीहरूलाई सम्पत्तिको सह–मालिक मान्न सकिने ऐतिहासिक फैसला गरेको छ । पहिलो पटक देशको पारिवारिक संहिताको प्रावधान लागू गर्दै अदालतले यदि दुवै पक्षले सम्पत्ति प्राप्त गर्न योगदान गरेको प्रमाणित भएमा समलिङ्गी जोडीहरूलाई सह–मालिकका रूपमा मान्यता दिन सकिने बताएको बीबीसीले जनाएको छ ।
रूढिवादी क्याथोलिक फिलिपिन्समा समलिङ्गी सम्बन्धहरू गैरकानूनी छन् र फिलिपिन्सले सम्बन्धविच्छेदलाई अनुमति दिँदैन । भ्याटिकन सिटीले पनि सम्बन्धविच्छेदलाई अनुमति दिँदैन । यसले ‘एलजीबीटी’ अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई सम्पत्ति, वित्त र स्वास्थ्य सेवाको सन्दर्भमा कानूनी सुरक्षाबाट वञ्चित बनाएको छ । एक पूर्वजोडी – दुई महिलाले उपनगरीय मनिलामा आफ्नो घर र जग्गा बेच्ने योजनालाई लिएर झगडा गरेको मुद्दामा आज सर्वाेच्च अदालतले फैसला गरेको खबरमा उल्लेख छ ।
सर्वोच्चकी प्रवक्ता क्यामिल टिङ्गले समलिङ्गी जोडीको सम्पत्ति अधिकारसम्बन्धी मुद्दामा निर्णय गर्न पहिलो पटक पारिवारिक संहिताको धारा १४८ प्रयोग गरिएको बताउनुभएको छ । अदालतले आफ्नो फैसलामा सरकार र सांसदहरूलाई समलिङ्गी जोडीहरूको आवश्यकतालाई सम्बोधन गर्न पनि आह्वान गरेको छ ।











