नेपालमा भ्रष्टाचार नियन्त्रणमा प्रगति हुन सकेन

काठमाण्डाै । नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा प्रगति हुन नसकेको तथ्याङ्कले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालले यस वर्ष पनि गएको वर्षकै जस्तै ३४ अङ्क मात्र प्राप्त गरेको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको अङ्क निर्धारण गरेका हुन् । लामो समयदेखि नेपाल ३५ भन्दा कम अङ्कमै सीमित रहँदै आएको भन्दै उहाँले यसले सरकारहरू भ्रष्टाचारविरुद्ध प्रभावकारी हुन नसकेका देखाएको बताउनुभयो ।

सूचकाङ्कले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र त्यसबाट भएको जनधन क्षतिको पृष्ठभूमिमा बढ्दो भ्रष्टाचार प्रमुख कारणमध्ये एक रहेको दाबीलाई थप पुष्टि गरेको उहाँको भनाइ छ ।

सन् २०२५ मा नेपालसहित मडागास्कर, फिलिपिन्स र इन्डाेनेशिया जस्ता देशहरूमा नवयुवा पुस्ताले नेतृत्वको शक्ति दुरुपयोग, सार्वजनिक सेवामा पहुँचको अभाव र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका छन् ।

अध्यक्ष शर्माले भ्रष्टाचार राजनीतिको अपरिहार्य अङ्ग होइन भन्ने सन्देश सूचकाङ्कले दिएको उल्लेख गर्दै आउँदाे चुनावबाट स्वच्छ, इमानदार र प्रतिबद्ध नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । यस्ता नेतृत्व चयन हुन सके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा सुधार सम्भव हुने उहाँको भनाइ छ ।

विश्वव्यापी रूपमा पनि भ्रष्टाचार नियन्त्रणमा प्रगति कमजोर देखिएको टीआईले जनाएको छ । सन् २०२५ मा विश्वको औसत अङ्क ४२ कायम भएको छ । दक्षिण एशियामा भूटानले ७१ अङ्कसहित राम्रो स्थिति देखाएको छ भने नेपालसहित धेरैजसाे देश कमजोर अवस्थामा रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search