खाँदबारी । खाँदबारी नगरपालिकामा आयोजित स्थानीय तह स्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८२ सम्पन्न भएको छ । नगर भित्रका १९ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उशु जस्ता विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय खाँदबारी २२ स्वर्ण, १५ रजत र १० कांस्य पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।त्यसैगरी १८ स्वर्ण, १२ रजत र ११ कांस्य पदक सहित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय द्वितीय भएको छ। प्रतियोगितामा तृतीय स्थान हासिल गरेको सूर्य आवासीय माध्यमिक विद्यालयले ९ स्वर्ण, ९ रजत र १५ कांस्य पदक प्राप्त गरेको छ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एवं खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले विजयी खेलाडीहरूलाई सिल्ड तथा मेडल प्रदान गर्नुभयो । सो अवसरमा आफ्नो सान्दर्भिक भनाई राख्दै नगर प्रमुख थपलियाले खेलकुदले विद्यार्थीमा अनुशासन र गतिशीलता भर्ने बताउनु भयो।
उहाँले नगरका विद्यालयहरूमा खेलकुदको वातावरण अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । खेल अफिसियल रामु घिमिरेका अनुसार सबै विधाहरू निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका थिए । प्रतियोगीता माघ २९ गतेबाट सुरु भएर फाल्गुन २ गते सम्पन्न भएको हो ।











