काठमाण्डौ । प्रतिनिधिसभा चुनावका लागि ६६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म ६६ जिल्लाका १ सय ४२ निर्वाचन क्षेत्रका लागि १ करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फको चुनावका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ, जुन दुई दिनभित्र सकिने अनुमान छ । छापिएका मतपत्र १६ हजार ४ सय ९४ बाकसमा प्याक गरिसकिएको आयोगले जनाएको छ ।
आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाइसकेको छ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा मतपत्र छपाइ भइरहेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको लागि २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।











