काठमाण्डाै । निर्वाचन आयोगले आजदेखि शुरू भएको मतदाता शिक्षाले बदर मतको प्रतिशत घटाउने अपेक्षा गरेको छ । यस पटक डिजिटल मतदाता शिक्षालाई थप प्रभावकारी बनाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
अघिल्ला तीन चुनावमा बदर मतको प्रतिशत क्रमशः बढ्दै गएको छ । २०७९ सालमा ५ दशमलव १९ प्रतिशत, २०७४ सालमा ५ दशमलव १६ प्रतिशत र २०७० सालमा ४ दशमलव ९६ प्रतिशत मत बदर भएको थियो ।
२०४८ सालयताका चुनावमा सबैभन्दा कम बदर मत २०५६ सालमा २ दशमलव ७५ प्रतिशत मात्रै भएको थियो । सूचना अधिकारी घिमिरेका अनुसार औसतमा झन्डै ६५ प्रतिशत मत खस्छ भने झन्डै ५ प्रतिशत मत बदर हुन्छ ।
बाँके, रोल्पा, सल्यान र जाजरकोटमा ७ देखि ९ प्रतिशतसम्म मत बदर भएको थियो भने मनाङ, मुस्ताङ, हुम्ला र भक्तपुरमा सबैभन्दा कम बदर भयो । छाप ठीक ठाउँमा नपर्ने, दुईतिर पर्ने र लतरपतर हुनेजस्ता समस्याले मत बदर हुने गरेको छ ।
आयोगले आजदेखि देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ । आउँदो १७ गतेसम्म चल्ने यो कार्यक्रममा सकेसम्म हरेक मतदाताको घरमा पुग्ने र सामुदायिक विद्यालयमा विद्यार्थीमार्फत पनि शिक्षा दिइने आयोगले जनाएको छ ।











