काठमाण्डौ । सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको माघ २५ गतदेखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ ।
एचपीभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप रहेको यसबाट डराउन नपर्ने अधिकारीले बताउनुभयो । अभियानअन्तर्गत गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ ।
अध्यक्ष डा. अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गर्नुभयो । वर्षौँदेखिको प्रयासपछि नेपालले एचपीभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट किशोरीहरुको भविष्य सुरक्षित गर्ने बताउनुभयो ।
अभियानअन्तर्गत सरकारले ३ लाख ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने छ ।











