काठमाण्डौ । चुनाव लोकतन्त्रको आधार हो । प्रायः चुनावी आचारसंहिता भन्नासाथ उम्मेदवार, राजनीतिक दल वा सरकारी संयन्त्रका काम मात्र सम्झनामा आउँछ । तर आचारसंहिता मतदाताका लागि पनि उत्तिकै लागू हुन्छ ।
निर्वाचन आयोगले आचारसंहितामा निष्पक्ष, शान्तिपूर्ण र मर्यादित चुनाव सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार रहन आग्रह गरेको छ । सचेत र जिम्मेवार मतदाता लोकतन्त्रको मजबुत आधार स्तम्भ हुन् । स्वच्छ र विश्वसनीय चुनाव केवल उम्मेदवारको जिम्मेवारी होइन, हरेक मतदाताको पनि हो । मतदाताले आचारसंहिता पालना गर्दा मात्र लोकतन्त्र मजबुत बन्छ र जनमतको वास्तविक अभिव्यक्ति सम्भव हुन्छ ।
निर्वाचन आयोगले मतदाताका लागि जारी गरेको निर्वाचन आचारसंहिता यस्तो छ :
.मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने
.मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा जाँड–रक्सी खान नहुने
.मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुट्टा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने
.मतदान गर्न जाँदा दल वा उम्मेदवारको चुनाव चिह्न वा झण्डा अङ्कित कपडा, टी–सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने
.मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको चुनाव चिह्न वा झण्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने
.कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने











