युक्रेनका पूर्वऊर्जामन्त्री देश छोड्न खोज्दा पक्राउ

युक्रेनका पूर्वऊर्जामन्त्री हर्मन हलुश्चेन्को देश छोड्न खोज्दा पक्राउ परेका छन् । रेल यात्राका क्रममा युक्रेनको सीमाभित्रै पक्राउ परेका ५२ वर्षीय हलुश्चेन्को कहाँ जान खोजेका थिए भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

युक्रेनको केन्द्रीय भ्रष्टाचार विरोधी निकाय (नाबु) ले विज्ञप्ति निकालेर मिडास नामक मुद्दाको एउटा हिस्साको रूपमा सीमापार गर्ने क्रममा उनलाई पक्राउ गरेको जनाएको छ ।

गएको नोभेम्बरमा १० करोड अमेरिकी डलर बराबरको हिनामिना भएको भनिएको भ्रष्टाचार काण्डमा संलग्न कैयौं सरकारी व्यक्तित्वहरूमध्ये हलुश्चेन्को एक थिए । गएको वर्ष यो काण्डमा नाम जोडिएपछि उनी पदबाट हटाइएका थिए ।

युक्रेनको केन्द्रीय भ्रष्टाचार विरोधी निकायले राष्ट्रिय परमाणु अपरेटर एनर्होएटमसहित युक्रेनको ऊर्जा क्षेत्रमा पैसा हिनामिना गर्ने योजना बनाएको आरोप लगाएको छ । उनीहरूले ठेकेदारहरूबाट सम्झौता मूल्यको १० देखि १५ प्रतिशतसम्मको घुस सङ्गठित रूपमा सङ्कलन गरेको आरोप छ ।

तीन वर्ष ऊर्जामन्त्रीका रूपमा काम गरेका हलुश्चेन्कोलाई थप सोधपुछका लागि राजधानी किभ लगिएको रेडियो फ्री युरोपले जनाएको छ । भ्रष्टाचार उन्मूलन गर्ने वाचासहित सत्तामा आएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनलाई यो काण्डले अप्ठेरोमा पार्ने देखिन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search