राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ ।

प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले २०१५ साल फागुन ७ गतेदेखि शुरू भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभयो । चुनावलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी देशलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न हुने सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले चुनावबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपिल गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त चुनावमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन समेत आग्रह गर्नुभयाे । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाएको र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय चुनावको शुरूवात भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गर्नुभएको छ ।

‘लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ’ प्रधानमन्त्री कार्कीले फेसबुकमा समेत लेख्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search