प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन : चुनाव सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो । उहाँले सुरक्षाकर्मी र सहयोगीहरूसँगै झन्डै २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् पर्यटकसँग कुराकानीसमेत गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताउनुभयो ।

मुक्तिनाथमा झन्डै एक घण्टा बिताएपछि प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरमार्फत जोमसोमको नेपाली सेनाको इन्द्रबक्स गण जानुभएको थियो ।

प्रधानमन्त्री कार्कीले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशनसमेत दिनुभएको छ । जोमसोमको इन्द्रबक्स गणमा आयोजित चुनावलक्षित छलफल तथा अन्तरक्रियामा उहाँले चुनावलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले मुस्ताङमा कुनै समस्या नआउने गरी तयारी गर्न पनि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र चुनाव लक्षित सुरक्षा योजनाबारे जानकारी गराउनुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search