हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको छ । भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको उहाँको भनाइ छ । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ ।

नार्पाभूमिमा वडा १ देखि ३ सम्म नार क्षेत्रमा ३, वडा ४ र ५ को फू क्षेत्रमा दुई गरी ५ वटा मतदान केन्द्र छन् । तर आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो ।

नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएको र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search