धनुषा । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा धनुषामा आचारसंहिता विपरीत टाँसिएका झन्डै २० हजार प्रचार सामग्री हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको छ ।
प्रशासनका अनुसार सार्वजनिकस्थल, बिजुलीका पोल, सरकारी भवन तथा सडक छेउछाउ आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले उम्मेदवार तथा राजनीतिक दललाई नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो ।
तर उनीहरुले त्यस्ता सामग्री नहटाएपछि प्रशासन आफैँले हिजो झन्डै २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँले अब फेरि यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने चेतावनी पनि दिनुभएको छ ।











