काठमाण्डौ । काठमाण्डौको सुन्धारामा रहेको धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकाले लिने भएको छ । संघीय सरकार र महानगरपालिकाबीच हिजो भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिनको लागि आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनैपनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र त्यसैअनुसार अघि बढ्ने निर्णय भएको बताउनुभयो ।
धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत महानगरलाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक मेयर डंगोलको भनाइ छ । सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने काम पनि महानगरपालिकाले गर्नेछ ।











