चुनावका कारण आर्थिक गतिविधिसँगै वैदेशिक व्यापार बढ्यो

काठमाण्डौ । चुनावका कारण आर्थिक गतिविधिसँगै वैदेशिक व्यापार पनि बढेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ७ महिना अर्थात साउनदेखि माघसम्म वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

माघसम्म १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड र निर्यात १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबर भएको छ । पुससम्म १० खर्ब ८१ अर्ब बराबर रहेको वैदेशिक व्यापार आकार एक महिनामै १३ खर्ब रुपैयाँ नजिक पुगेको हो ।

माघमा आयात बढेर १ खर्ब ८४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको ७ महिनामा प्रतिमहिना औसत आयात १ खर्ब ६० अर्ब ५ करोड रुपैयाँ रहेको छ । प्रतिमहिना औसत आयातको तुलनामा माघको आयात करिब २४ अर्ब रुपैयाँले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । पुसमा १ खर्ब ७२ अर्ब ८३ करोड रुपैयाँको आयात भएकामा माघमा आयात थप बढेको हो ।

गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वस्तु आयात १३.६५ प्रतिशतले बढेको छ । आयातसँगै निर्यात पनि बढेको छ । चालू आर्थिक वर्षको ७ महिनामै निर्यात डेढ खर्ब रुपैयाँ नाघेको छ । माघसम्म वस्तु निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । गएको आर्थिक वर्षको माघसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ थियो ।

आयातको तुलनामा निर्यात उच्च भए पनि कूल वैदेशिक व्यापारमा आयातको हिस्सा बढी हुँदा व्यापार घाटा बढेको छ । माघ मसान्तसम्म व्यापार घाटा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।

गएको आर्थिक वर्षको माघसम्म ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा थियो । आयात र निर्यात दुवै बढ्दा कूल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ ।

भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ । यस्तै चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान नेपाल आएको छ भने नेपालबाट चीनतर्फ ९० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search