नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

काठमाण्डौ । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’ को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । लिस्बनको परराष्ट्र मन्त्रालयमा हिजो सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ ।

बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियोे । दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार–विमर्श गरेका थिए ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियोे भने पोर्चुगलको तर्फबाट पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवम् युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेसहित दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकमा नेपाल–पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासो, आपसी हित, थप सहकार्य र सहयोग अभिवृद्धिबारे गहन विमर्श र छलफल भएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिनुभयो । पोर्चुगलवासी नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि सहजीकरण गरिदिन पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको उहाँले बताउनुभयो ।

त्यस अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रतिको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । परराष्ट्र मामिला सचिव डा. जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search