म्याग्दी । राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारको शैलीलाई यसपटक केही फरक गर्न थालेका छन् । यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावका लागि उनीहरुले विगतमा भन्दा नयाँ शैली अपनाउन थालेका हुन् ।
यसअघिका चुनावमा भित्तामा टाँसिने पोस्टर–पम्प्लेट, पर्चा वितरण र चुनावी सभाभन्दा यसपटक उम्मेदवार आफै टोल–बस्तीमा पुगेर मतदातासँग छलफल गर्ने, घरदैलो र स–साना कार्यक्रम तीब्र पारेका छन् । यसबाहेक सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगलाई पनि प्राथमिकतामा राखेका छन् ।
उम्मेदवारसँगै नेता र कार्यकर्ताले घरदैलो र प्रत्यक्ष भेटघाटलाई अलि धेरै केन्द्रित गरेका छन् । सामाजिक सञ्जालमार्फत् पनि आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार गर्नेक्रम बढेको छ । फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्नेजस्ता शैली अपनाएको देखिन्छ ।
बदलिँदो प्रचार शैलीले यसपटकको चुनाव र प्रतिस्पर्धा अझ रोचक बनेको म्याग्दीका स्थानीय बुद्धिजीवी राजु केसीले बताउनुभयो । डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।











