चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ६० वटा हराएका र २५ वटा क्यामेरा बिग्रेका बताउनुभयो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा १ हजार ७ सय ८० वटा क्यामेरा प्रयोग गरिएको थियो । गएको पुस ३ गतेदेखि शुरू गरिएको बाघ गणना सम्पन्न भएको छ ।
सूचना अधिकारी थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
गणनामा चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।











