काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सन्दर्भमा हुन सक्ने सम्भावित घटना र चुनौतीहरूलाई ध्यानमा राखी समयमै पूर्वतयारी गर्नुपर्ने बताउनुभएको छ । आज रुपन्देहीकाे बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले चुनाव बहिष्कारका नाममा केही समूहले चन्दा असुली गर्ने र अस्तित्व देखाउने प्रयास गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो ।
आउँदो हप्ता फागुपूर्णिमा पर्ने भएकाले सुरक्षा चुनौती थपिन सक्ने र रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने उल्लेख गर्दै सम्बन्धित निकायलाई सजग रहन उहाँको निर्देशन छ ।
तराईका केही जिल्लामा दलहरूबीच झण्डा जलाउने र उक्साउने गतिविधि बढेको जनाउँदै प्रधानमन्त्री कार्कीले चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन स्पष्ट निर्देशन दिनुभयो । साथै सबै पक्षलाई संयम र लोकतान्त्रिक संस्कारको पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।











