काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले केही कुण्ठित व्यक्तिहरूले चुनाव बिथोल्ने प्रयास गरे पनि त्यो सफल नहुने दाबाी गर्नुभयो ।
फागुन २१ गते विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म शान्तिपूर्ण रुपमा निष्पक्ष मतदान हुने उहाँको भनाई छ । भण्डारीले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू सबैले चुनाव बाहेक अर्को विकल्प नदेखेको र सबै चुनावको प्रचारप्रसारमा सक्रिय रहेको बताउनुभयोे ।
चुनाव विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले पनि नजिकबाट अनुगमन गरिरहेको उहाँले बताउनुभयो । साथै उहाँले केही सञ्चारमाध्यमले मत सर्वेक्षण जारी राखेको भन्दै आचारसंहिता विपरितका कार्यमा कारबाही गर्न बाध्य हुने चेतावनी दिनुभयो ।











