काठमाडौँ । नेपालमा एक महिनामै पाँच अर्ब बढीको धान, चामल आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक हेर्दा एक महिनामै पाँच अर्ब बढीको धानचामल आयात भएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) को व्यापार तथ्यांकअनुसार, माघसम्म २५ अर्ब ४८ करोड ५८ लाख ४१ हजारको धान चामल (धानको बिउसमेत) भित्रिएको छ।
गत पुससम्म धानचामल, धानको बिउसमेत गरी २० अर्ब ३८ करोड ६५ लाख ५१ हजार बराबरको करोड रुपैयाँको आयात गरिएको थियो। एक महिनामै आयात ५ अर्ब ९ करोड ९२ लाखले बढेको तथ्यांकले देखाउँछ।
गत वर्ष भन्दा धेरै चामल आयात
गत वर्षको तुलनामा यो वर्ष धानको आयात घट्दा चामलको बढेको छ। चामल गत वर्षभन्दा १ अर्ब ८६ करोड १२ लाख ७४ हजार बढीको चामल भित्रिएको हो। गत साउनदेखि माघ महिनासम्म धान (बिउ समेत) मात्रै १२ अर्ब ८४ करोड ७९ लाख २६ हजार रुपैँयाको ३ लाख ४८ हजार ४१० मेट्रिक टन किनेर ल्याइएको छ।
आयात भएको १२ अर्ब ६३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको चामलमध्ये ५ अर्ब १२ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको ४६ हजार मेट्रिक टन बासमती चामल छ। यस्तैगरी, अन्य प्रकारका चामल ७ अर्ब २४ करोड ८१ लाख २० हजार रुपैयाँको १ लाख १३ हजार ७९३ मेट्रिक टन अन्य चामल र २५ करोड ९४ लाखको कनिका आयात भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को यही अवधि (साउन–माघसम्म) मा १४ अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैँया बराबरको ३ लाख ८१ हजार मेट्रिक टन धान आयात भएको थियो। यस्तैगरी १० अर्ब ७७ करोड ६६ लाख ४१ हजार रुपैँया बराबरको १ लाख ३३ हजार २९१ मेट्रिक टन चामल खरिद गरी ल्याइएको थियो।
पुरै वर्षभरीको तथ्यांक हेर्दा २०८१/८२ भरी ४० अर्ब १८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको थियो। एक अर्ब १६ करोड ६६ लाख रुपैँयाको बिउसहित २१ अर्ब ५२ करोड रुपैँया बढीको धान आयात भएको थियो। यस्तैगरी १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको चामल भित्रिएको थियो।
एकादेशको कथा बन्यो निर्यात
कुनै समय धान र चामल निर्यात गर्ने कृषिप्रधान देश नेपाल अहिले मुख्य खाद्यान्नमा परनिर्भर हुँदा अरबौंँ रुपैयाँ विदेशिने गरेको छ। ;रकारले धान चामलमा आत्मनिर्भर बन्ने लक्ष्य राखे पनि त्यसअनुसार उत्पादन र उत्पादकत्व बढाउन नसक्दा आयात न्यूनीकरण गर्न नसकिएको सरोकारवाला बताउँछन्।
सरकारले दुई वर्षमा मुलुकलाई धानमा आत्मनिर्भर बनाउने भनेको छ। तर बढ्दो आयात सरकारी लक्ष्यमा चुनौती देखिएको छ। त्यसमाथि गत वर्षको तुलनामा यो वर्ष साढे दुई लाख मेट्रिक टन धान कम उत्पादन भएको छ।
मुलुकका लागि करिब ७९ लाख मेट्रिक टन धान आवश्यक पर्ने सरकारी अनुमान छ। धानखेती हुने क्षेत्रफल घट्नुका साथै उत्पादकत्वमा आएको कमीले यो वर्ष ५७ लाख ५ हजार १२६ मेट्रिक टन धान उत्पादन भएको छ। यो गत वर्षको तुलनामा ४.२० प्रतिशतले कम हो। गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान फलेको थियो











