डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र महिला १९ छन् । ०७९ को निर्वाचनमा फोतगाउँमा जम्मा ३४ मतदाता थिए । यस पटक ६ जना थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
यो गाउँमा एउटा मात्रै मतदान केन्द्र छ । जुन वडा कार्यालयमा छ । २०७९ को संसदीय निर्वाचनमा ३४ जना मतदातामध्ये ३१ जनाले मात्रै मताधिकार प्रयाेग गरेका थिए ।सदरमुकाम दुनैदेखि हप्तौँ पैदल हिँडेर पुगिने फोत गाउँमा आधारभूत सेवा समेत नभएर कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यता खेपिरहेको वडा सदस्य कोइजोर गुरुङले बताए ।
अहिले पनि फोत गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत् लगायतका सामान्य सुविधा पुगेका छैनन् । सो गाउँमा सुविधा पुर्याउन पनि सहज नभएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने वडा सदस्य गुरुङको मत छ । यस्तै शे–फोक्सुन्डो गाउँपालिकाकै वडा नम्बर ७ मा पनि ९६ जना मात्रै मतदाता संख्या छ ।











