चितवनमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण : बङ्गुर मर्न थालेपछि किसान चिन्तामा

चितवन । चितवनमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । चिसो कम हुन थालेसँगै रोगको सङ्क्रमण देखिन थालेको हो । इच्छाकामना गाउँपालिकाको एक व्यवसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका पशु चिकित्सक डा. सविता ज्ञवालीका अनुसार सङ्क्रमणबाट इच्छाकामनामा पालिएका ७० वटा तथा भरतपुरमा चार वटा बङ्गुर मरेका छन् ।

बङ्गुर मर्न थालेपछि किसान चिन्तामा परेका छन् । ‘अफ्रिकन स्वाइन फिभर’ भाइरसबाट सर्ने रोग भएकाले किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । सङ्क्रमित सुँगुर–बङ्गुरबीचको प्रत्यक्ष सम्पर्क, रोगी बङ्गुरको र्याल, मलमूत्र, दानापानीलगायतबाट यो रोग सहजै सर्ने गर्छ ।

बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेका लुगाकपडा, जुत्ता, चप्पललगायतको प्रयोग गर्दा सर्नसक्ने हुँदा सावधानी अपनाउन डा. ज्ञवालीको आग्रह छ । यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा धब्बाहरु देखिने, उच्च ज्वरो आउने जस्ता लक्षण देखिने कार्यालयले जनाएको छ ।

यसबाट जोगाउन बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउन आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search