काठमाण्डौ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालको निर्वाचन प्रणालीलाई अझ समावेशी, पारदर्शी र उत्तरदायी बनाउन बहस हुनुपर्ने बेला आएको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै पोखरेलले अहिलेको मिश्रित निर्वाचन प्रणालीले समावेशिताका दृष्टिले उपलब्धि हासिल गरे पनि गुणात्मक पक्ष अझै कमजोर रहेको बताउनुभयो ।
समानुपातिक सूची तयार गर्दा दलहरूभित्र पारदर्शिताको अभाव रहेको र चुनाव अत्यधिक खर्चिलो हुँदा इमान्दार व्यक्तिले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ । पोखरेलले निर्वाचन प्रणाली सुधारका लागि पूर्ण समानुपातिक, बहुमतीय वा परिमार्जित मिश्रित प्रणालीलगायत विकल्पहरूमाथि गम्भीर छलफल हुनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार समग्र देशलाई एउटै निर्वाचन क्षेत्र मान्नुको सट्टा प्रदेशस्तरीय समानुपातिक सूची बनाउँदा क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुन सक्छ । आउँदो २१ गते हुन लागेको चुनावलाई सफल बनाउनु सबैको साझा दायित्व रहेको भन्दै उहाँले त्यसपछि आउने जनप्रतिनीधिले निर्वाचन प्रणाली सुधारका काम गर्नुपर्ने बताउउनुभयो ।











