काठमाण्डौ । प्रतिनिधिसभा चुनावप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा धेरै उत्साह देखिएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको सर्वेक्षणअनुसार विगतको तुलनामा यसपालि मधेश प्रदेशका झण्डै ५५ प्रतिशत मतदातामा चुनावप्रति उत्साह देखिएको छ ।
नवयुवा आन्दोलनको जगमा हुन लागेको चुनावलाई यसअघिका चुनावभन्दा फरक र विशिष्ट रूपमा लिइएको जियोकका महासचिव कृष्णमान प्रधानले बताउनुभयो । नवयुवा आन्दोलनपछिको चुनाव भएकाले पनि आम मतदातामा उल्लेखनीय उत्साह रहेको उहाँले बताउनुभयो ।
मधेशमा चुनावप्रति सबैभन्दा बढी ७९ दशमलव २ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ । नवयुवा पुस्ताले चुनावलाई विगतको भन्दा फरक मानेका छन् । आम मतदाता तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुनेमा ढुक्क छन् जियोकको प्रतिवेदनमा भनिएको छ ।
झण्डै एक सय जना मतदातामा गरिएको सर्वेक्षणमा सहभागी धेरै मतदाता चुनावबारे सचेत रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ३४ प्रतिशत मतदाता राजनीतिक शक्तिबाट उच्च रूपमा प्रभावित रहेको र ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ ।
नवयुवा आन्दोलनको प्रभावका कारण विगतको तुलनामा चुनावी नतिजामा केही फेरबदल हुन सक्ने अनुमान पनि गरिएको छ । चुनावको सफलताका लागि शान्ति र सुरक्षालाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिए पनि पछिल्लो समय बन्दै गएको सकारात्मक चुनावी वातावरणले अन्य चुनौतीलाई क्रमशः पन्छाउँदै लगेको संस्थाले जनाएको छ । यद्यपि राजनीतिक दलका कार्यकर्ताबीच हुन सक्ने विवादले केही ठाउँमा छिटफुट सुरक्षा चुनौती निम्त्याउन सक्ने विषयलाई नकार्न नसकिने औँल्याइएको छ ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मत निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेका छन् । लैङ्गिक आधारमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला सामाजिक सञ्जालबाट प्रभावित देखिएका छन् ।प्रतिवेदनमा नवयुवा पुस्ता प्रविधि प्रयोगमा मात्र होइन, सामाजिक सञ्जालबाट समेत उल्लेख्य रूपमा प्रभावित रहेको उल्लेख गरिएको छ ।
चुनावलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याइएको छ । चुनावको सुरक्षामा भ्रामक सूचनाले नकारात्मक असर पार्न सक्ने भएकाले त्यसको समयमै रोकथामतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । चुनावका लागि आवश्यक वातावरण बन्दै गएको, मतदातामा उत्साह बढिरहेको, नयाँ राजनीतिक शक्तिको उदयको सङ्केत देखिएको तथा चुनावपछिको परिदृश्यमा सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।











