काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागले चुनावको बेला यही फागुन २० गतेदेखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले चुनाव विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा चुनावको समयमा खासै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने जनाएको हो ।
यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात हुनेछ भने मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे पनि वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ । यस्तै सबै प्रदेशका तराई क्षेत्रमा मौसम सफा रहनेछ ।











