काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ बराबर ऋण पाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पहिलो सात महिनामा २ खर्ब ५५ अर्ब ४८ करोड बराबरको प्राप्ति भएको हो । यो वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भएको छ । अब सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.८१ प्रतिशत हो ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ .१९ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारले सार्वजनिक ऋणको साँवा व्याज गरी २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी गरेको छ ।











